अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–१० स्थित अर्घा मन्दिर नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्।
सन्धीखर्कतर्फ आउँदै गरेको लु ६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५ मिटर तल खसेको हो। दुर्घटनामा परि स्याङ्जा जिल्लाको बालिङ नगरपालिका–८ का ६० वर्षीय डम्बर बहादुर खत्री गम्भीर घाइते भएका थिए। जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका क्रममा आजै उनलाई चिकित्सकले मृत घोषणा गरेका छन्।
त्यस्तै मोटरसाइकलको पछाडि सवार अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बागीकी २६ वर्षीया सुनिता खड्का घाइते भएकी छन्। उनको हात, खुट्टा र ढाडमा चोट लागेको छ र अवस्था मध्यम रहेको बताइएको छ। हाल उनी जिल्ला अस्पताल अर्घाखाँचीमा उपचाररत छिन्।
दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।