काठमाडौं । अरब देशमा आगामी आइतबार (मार्च ३०) ईद उल-फित्र मनाउने घोषणा गरिएको छ । शनिबार साउदी अरब, यूएई, कतार, कुवेत, बहराइनलगायतका मुस्लिम राष्ट्रहरूले ईदको चन्द्रमा देखिएको पुष्टि गर्दै आइतबार ईद मनाउने निर्णय गरेका हुन् ।
अरब देशहरूमा चन्द्रमा देखिएको पुष्टि भएसँगै नेपालमा ईद उल-फित्र सोमबार (मार्च ३१) मनाइने निश्चित भएको छ । इस्लामिक परम्परा अनुसार नयाँ चन्द्रमा देखिएपछि रमजान महिना सकिन्छ र ईद मनाइन्छ । नेपालमा साउदी अरबको निर्णयअनुसार एक दिन ढिलोगरी ईद मनाउने चलन छ ।
नेपालका मुस्लिम समुदायले पनि सोमबार विशेष नमाज, भेटघाट र दानदक्षिणाका साथ ईद मनाउने तयारी गरेका छन् । मुस्लिम आयोग, नेपाल इस्लामिक संघ तथा विभिन्न धार्मिक संस्थाहरूले ईदको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।