सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ रतलेस्थित राना होटल बाहिर पार्किङ गरिएको मोटरसाइकल चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
माघ १२ गते दिउँसो करिब ३ बजे लु. ९५ प. ६७ नम्बरको मोटरसाइकल चोरी भएको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले माघ १३ गते सन्धिखर्क नगरपालिका वडा नं. १ कान्थिपथबाट मोटरसाइकलसहित अभियुक्तलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. ९ बस्ने १८ वर्षीय विजय ढेङ्गा मगर हुन्।
प्रहरीले चोरी गरिएको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
सार्वजनिक स्थलमा चोरीका घटनाहरू रोक्न प्रहरी सक्रिय भएको र चोरीमा संलग्न व्यक्ति पक्राउ गरिएपछि स्थानीय नागरिकहरूले प्रहरीको कार्यको प्रशंसा गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।