बुटवल । बुटवल जेसीजले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । बुटवल जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी विनोद घिमिरेको अध्यक्षता, महासचिव जेसी केशव श्रीसको संचालन तथा जेसी नारायण भुसालको संयोजकत्वमा सम्पन्न दिप प्रज्वलन कार्यक्रममा बोर्डका पदाधिकारीहरु, डाइरेक्टरहरु, सल्लाहकारहरु , पुर्व अध्यक्षहरु एवं जेसी सदस्यहरुको उपस्थिति रहेको थियो ।
१०४ वर्ष जहाँनिया, निरकुश, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफनो ज्यान आहुती दिने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरु प्रति श्रद्धासुमन व्यक्त गर्दै ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा बुटवल जेसीजको स्वर्ण जयन्ती स्तम्भ अगाडी दिप प्रज्वलन कार्यक्रम गरेको मिडिया संयोजक नारायण घिमिरे `भावुक´ ले जानकारी दिनुभयो ।
विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावना र नेतृत्व अनि व्यक्तित्व विकासलाई आत्मसात गर्दै निरन्तर सक्रिय रहेका युवाहरुको समूह हो जेसीज । यहि अभियानमा जोडिनका लागि बुटवल क्षेत्रका युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने उदेश्यले स्थापना भएको बुटवल जेसीज एक अग्रणी तथा पुरानो शाखा हो ।
सन् १९७४ मा गोरखपुर जेसीजको मातृत्वमा स्थापित बुटवल जेसीजले आफ्नो अर्ध सतकको यात्रा पूरा गरिसकेको छ । ऐतिहासिक बुटवल नगरमा व्यक्तित्व र नेतृत्वदायी भुमिका निर्वाह गर्ने एवं प्रशिक्षणको माध्यमबाट वर्ष १८ देखी ४० का युवाहरुलाई प्रशिक्षित गर्ने थलोको रुपमा स्थापित बुटवल जेसीजका संस्थापक अध्यक्ष स्व. द्रोणलाल जोशी रहनुभएको थियो । अहिले ५० औं वर्षमा बुटवल जेसीजले यात्रा गर्दै वर्ष २०२४ को नेतृत्वमा जेसी विनोद घिमिरे रहेका छन् भने १०१ जना युवाहरु बुटवल जेसीजमा रहेका छन् ।