विक्रम पाण्डे
अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ वटै पालिकाहरुमा नेपाली कांग्रेसले पालिका स्तरिय सम्मेलन सम्पन्न गरेको छ ।
सम्मेलनलाई जिल्ला तहका नेताहरुले संवोधन गर्नुभएको छ । छत्रदेव गाउँपालिकामा प्रदेश सहमहामन्त्री विष्णु खनाल र जिल्ला सचिव अच्युत गौतम, सन्धिखर्क नगरपालिकामा नेपाली कांग्रेसका सभापति केशव श्रेष्ठ र जिल्ला सचिव कृष्णप्रसाद खनाल, पाणिनि गाउँपालिकामा पुर्व पाटी सभापति कमलप्रसाद भुसाल र सहसचिव मेघराज पाण्डे, मालारानी गाउँपालिकामा प्रदेश सदस्य शान्ता भण्डारी र बाबुराम पौडेल, भुमिकास्थान नगरपालिकामा जिल्ला सभापति केशव श्रेष्ठ र सहसचिव कमल पौडेल र शितगंगा नगरपालिकामा जिल्ला उपसभापति विष्णु भुसालले संवोधन गर्नु भएको हो ।
नेपाली कांग्रेस छत्रदेव गाउँपालिकाको सम्मेलनलाई संबोधन गर्दै प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउनु भयो । नेपाली कांग्रेस संगठन विस्तार गाउँमुखी भए मात्र पार्टी संगठित र बलियो बन्ने बताउनुभयो । कार्यक्रतामा उत्साह थप्न एकढिक्काका साथ नेपाली कांग्रेसको संगठन विस्तार अभियानमा लाग्नु पर्ने समय आएको बताउनु भयो ।
यता , नेपाली कांग्रेस सन्धिखर्क र भूमिकास्थान नगरपालिकाको सम्मेलनलाई संबोधन गर्दै जिल्ला पार्टी सभापति केशव श्रेष्ठले नेपाली कांग्रेस अर्घाखाँचीलाई गुट उपगुट त्यागेर पार्टीलाई एकजुट बनाई एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । गाउँका गरिब,दुखी,वेसहारा र विपन्न परिवारको भावना बुझ्न सके मात्र नेपाली कांग्रेस बोलियो र शक्तिशाली हुने उहाँको भनाई छ ।
सभापति श्रेष्ठले पार्टीबाट निर्वाचित पालिका तथा वडाका जनप्रतिनिधिले जनता र पार्टीसंग समन्वय गरेर मात्र अर्घाखाँचीको विकासमा हातेमाले गर्नु पर्ने धारणा राख्नुभयो । निर्वाचन जितेर जनप्रतिनिधिले पार्टी भुल्ने गरेको प्रति दुख व्यक्त समेत गर्नुभएको छ ।
उता ,पाणिनि गाउँपालिकाको सम्मेलनलाई संबोधन गर्दै पुर्व पाटी सभापति कमलप्रसाद भुसालले पार्टीमा उत्साही युवापंक्ती मुखरित हुने पर्ने बताउनु भयो । युवाशक्ति नै पार्टीको मेरुदण्ड भएको बताउँदै युवाहरुको पार्टीप्रतिको चासो र चिन्तालाई ब्यवास्ता गर्न नहुने बताउनु भयो । पार्टीलाई युवाहरुको भावनालाई समटेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
त्यस्तै मालारानी गाउँपालिकाको सम्मेलनलाई संबोधन गर्दै प्रदेश सदस्य शान्ता भण्डारीले नयाँ गन्तव्य एवं मार्गचित्र सहित इतिहास र भविष्यप्रति कर्तव्य निर्वाह गर्दै बदलिंदो परिवेश अनुसार पार्टी सञ्चालन गरिनु पर्ने बताउनु भयो ।
उता, शितगंगा नगरपालिकाको सम्मेलनलाई संबोधन गर्दै जिल्ला उपसभापति विष्णु भुसालले अब एकपटक विना स्वार्थ पार्टी र समाजका लागि क्रियाशील बन्नुपर्ने बताउनु भयो । पार्टी अब रुपान्तरणबो नयाँ बाटोमा अगाडि बढ्नुपर्ने बताउनु भयो । शितगंगा नगर कार्यसमितिको आयोजनामा नगर सम्मेलन १२ बुदे कार्य योजना पारित गर्दै र रिक्त रहेको सचिव पदमा सर्वसम्मत रुपमा कमल ढकाललाई निर्वाचित गरी भब्य र सभ्य रुपमा सिंगों शितगंगालाइ रुपान्तरित गरि समृद्ध बनाउने उद्घोसका साथ सम्पन्न भएको छ ।
६ वटै पालिकामा भएको कार्यक्रममा जिल्ला तहका नेताहरुले धारण राख्नु भएको थियो । सम्मेलनमा अधिकांश नेताहरुले जनता र कार्यकर्ताको मर्म , भावना अनुसार पार्टी अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । उहाँहरुले टोल समिति , भातृ तथा शुभेच्छुक संस्थाहरुलाई समेत सक्रिय बनाई संगठनलाई चलायमान बनाउन समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति बाबुराम पौडेल सचिव कृष्ण खनाल , अच्युत गौतम , सहसचिव कमल पौडेल , मेघराज पाण्डे , कोषाध्यक्ष विष्णु क्षेत्री लगायतका नेताहरुले सम्मेलनमा संबोधन गर्नुभएको थियो ।
सम्मेलनमा पार्टीको संगठन विस्तार, तल्लो तहसम्म पार्टीको वैचारिक बहसका बारेमा छलफल भएको नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो । कांग्रेसको संगठनको अवस्था,पार्टीको संरचना,संगठन सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन बिस्तारका लागि अपनाउनुपर्ने रणनीति,पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा सम्मेलनमा छलफल भएको हो ।
यसैविच , नेपाली कांग्रेस सन्धिखर्कले पालिका सम्मेलनको औपचारिक कार्यक्रम भन्दा पूर्व बजार परिक्रमा समेत गरेको छ । सन्धिखर्क नगरपालिकाका करिव दुई हजार कांग्रेस जनको उपस्थितीमा बजार परिक्रममा गरिएको थियो । सन्धिखर्कको टुडिखेलबाट सुरु भएको बजार पक्रिममा कार्यक्रम गुन्टेखोला , बसपार्क , हललाइन , मिडियाचोक , शान्ति बगैँचा हुँदै पुन टुडिखेल ,जिल्ला सभागृहमा आई औपचारीक कार्यक्रममा परिणत भएको थियो । सम्मेलनको औपचारिक कार्यक्रम सन्धिखर्क नगर सभापति बाबुराम भुसालको सभापतित्व , उपसभापति शान्ता पन्थीको स्वागत मन्तब्य तथा सहसचिव दिपक अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
सम्मेलनमा नगर उपसभापति तुल्सी पौडेलद्धारा कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै सम्मेलनले उपसभापति पौडेलले प्रस्तुत गर्नु भएको १० बुँदे सुझावी प्रस्ताव बहुमतले पारित गरेको छ ।
कार्यक्रममा जिल्ला सदस्य लिलाराम गौतम , ८ नं. वडाका वडा अध्यक्ष हुम प्रसाद बन्जाडे , महाधिवेशन प्रतिनिधी नन्दराम भट्राई , नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष शारदा भट्राई , सनपा १२ का वडा अध्यक्ष तथा नेपाल तरुण दल जिल्ला अध्यक्ष नारायण खड्का भूत पूर्व सैनिक संघका जिल्ला अध्यक्ष राम बहादुर परियार , नेपाल महिला संघकी जानका बन्जाडे , नेपाल विद्याथी संघका अध्यक्ष भरतमणी भट्राई लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका गाउँगाउँबाट करीव २००० जना कांग्रेस जनहरुको उपस्थिती रहेको थियो । पार्टीले यहि श्रावण २७ गते प्रदेश सम्मेलन गर्दैछ ।