विक्रम पाण्डे
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले प्रथम पालिका सम्मेलनको तयारीलाई तिब्रता दिएको छ । पार्टीले यहि श्रावण १९ गते गर्ने पालिका सम्मेलनलाई व्यापक बनाउनको निम्ती ६ वटै पािलकाहरुमा निर्देशन दिएको छ । नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका , भूमिकास्थान नगरपालिका , शितगंगा नगरपालिका , छत्रदेव गाउँपालिका , मालारानी गाउँपालका र पाणिनी गाउँपालिका कार्य समितिलाई निर्देशन दिएको हो । यहि श्रावण १९ गते हुने पालिका सम्मेलन तयारीको काममा अगाडी बढेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको हो ।
सम्मेलनमा कांग्रेसको सङ्गठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, सङ्गठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा ब्यापक छलफल हुने बताउनु भयो ।
पालिका सम्मेलनले नेपाली कांग्रेसको संगठन विस्तारलाई सहयोग गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण खनालले विश्वास ब्यक्त गर्नुभयो । नेपाली कांग्रेसको विधान २०१७ ( नवौँ संसोधन ) ले गरेको ब्यबस्था तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको पूर्व घोषित कार्यक्रम अनुसार नेपाली कांग्रेस अर्घाखाँचीले पालिका सम्मेलन गर्न लागेको हो । सम्मेलनको लागि जिल्ला तहका नेताहरुलाई प्रतिनिधीको रुपमा पालिकाहरुमा खटाउन लागि प्रतिनिधी छनौटको कार्य भैरहेको सचिव खनालले जानकारी दिनुभयो ।
यसैविच पालिका सम्मेलनको विषयमा नेपाली कांग्रेस सन्धिखर्क नगर कार्य समितिको सम्मेलन तयारी बैठक सम्पन्न भएको छ । बैठकले यहि श्रावण १९ गते हुने पालिका सम्मेलनको लागि नगर कार्य समितिका पदाधिकारी , सदस्य , सम्पूर्ण वडा कार्य समितिका पदाधिकारी तथा सदस्यहरु , कृयाशिल सदस्य , सम्पूर्ण क्षेत्रीय प्रतिनीधि , भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी , सदस्य , विभिन्न टोल समितिका पदाधिकारी सदस्य तथा पार्टिी प्रति आस्थावान सम्पूर्ण ब्यक्तित्वहरुमा सम्मेलनमा ब्यापक सहभागिताको लागि अनुरोध गरेको छ ।
कांग्रेसको संगठन सुध्रिढिकरण , पार्टी रुपान्तरण सहितको नारा सहित कांग्रेस अर्घाखाँचीले गत असार ९ गते जिल्लाका ६१ वटै वडाहरुमा वडा सम्मेलन सम्पन्न गरिसकेको छ । पाटीर्ले वडा सम्मेलन सम्पन्न पश्चात पालिका सम्मेलन गर्न लागेको हो । सम्मेलनले सांगठनिक , राजनितीक तथा आर्थिक प्रतिवेदन पेश गर्नुको साथै आगामी एक वर्षमा गर्नुपर्ने रणनीतिक कार्यहरुको घोषणा गर्नेछ ।