लक्ष्मण घिमिरे
अर्घाखाँची । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर मियाँले राजनिती स्थिरता नहुँदा निजी क्षेत्र निरुत्साहित भएको बताएका छन् । विगत दुई दशकलाई फर्केर हेर्दा देशमा राजनिती स्थिरता कायम हुन नसक्दा निजी क्षेत्रले फड्को मार्न नसकेको बताए ।
सन्धिखर्कमा नेपाल प्रेस युनियनले आयोजना गरेको ‘अर्थतन्त्रको अवस्था र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका केन्द्रिय सदस्य मियाँले गएको प्रदेश तथा संघिय निर्वाचनले पनि स्थिरता प्रदान गर्न नसकेको बताए । निर्वाचनबाट प्राप्त जनमतले झनै बढी अस्थिरता निम्त्याउने देखिएकाले पटक–पटक सरकार हेरफेर हुँदा निजी क्षेत्रमा प्रत्यक्ष असर पुगेको बताए ।
देशको अर्थतन्त्र सुधार नहुनु र सोंचे अनुरुप लक्ष्य प्राप्त नहुनुको प्रमुख कारण समेत राजनिती अस्थिरता नै रहेको उनले बताए । ‘पटक–पटक सरकार र मन्त्री परिवर्तनले ठोस निति बन्न पाउँदैन,उनले भने,‘देशको अर्थतन्त्र सुधार नहुनु पनि कारण यही हो ।’
राजनिती खिचातानी र आरोप प्रत्यारोपले मात्र मुलुकको विकास नहुने भन्दै राजनिती नेतृत्वले गम्भिर भएर सोंच्नुपर्ने बेला आएको उनको भनाई छ । ०७२ सालको भुकम्पले खस्किएको अर्थतन्त्र कोरोनाले थिंचोमिचो बनाएको मियाँले बताए । तर सबै जानेका, देखेका, भोगेका राजनिती नेतृत्वले सुधारमा ध्यान नदिएको उनको आरोप छ ।
वीरेन्द्र केसीको अध्यक्षयता, रूद्रमणि भुसालको स्वागत र विष्णु खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।