-अनन्तप्रसाद घिमिरे
समाज विभिन्न संस्कार,संस्कृति र धार्मिक मान्यताबाट अभिप्रेरित रहेको हुन्छ। हरेक मानवको लागि आत्मशान्तिको विषय नै सनातन परम्परा रहेका कारण त्यसप्रति झुकाव हुनुलाई स्वभाविक मान्न सकिन्छ। हरेक वर्षको फाल्गुण कृष्ण चतुर्दशी तिथिलाई नै महाशिवरात्री पर्वका रूपमा लिने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुले निकै श्रद्धा र भक्तिपुर्वक मनाउने विभिन्न पर्वहरुमध्येको एक प्रमुख पर्व पनि हो शिवरात्री। आराध्यदेव भगवान महादेव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री,सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा उल्लेख छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिने गरिन्छ । व्रतोत्सवहरूमध्येको सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन शिव उपासकहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको नाममा दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिनका रुपमा पनि यस पर्वलाइ लिने गरिन्छ। निर्जल व्रत, रात्रीमा जागरण, चार प्रहरको विशेष विधि अनुसार पूजा, शिवलिंगमा दुग्धाभिषेक, शिव महिमा, कीर्तन, शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको उपासनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दुग्धले स्नान गराइन्छ।अघोरमूर्तिलाई दधीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घृतले स्नान गराइन्छ भने सद्योजात लिंगोद्भवमूर्तिलाई मधुले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा पनि मनाउने गरेका छन् ।
शिवरात्री र शिवको महिमा
ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ । अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग (मिलन) हुन्छ । यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभीष्टतम पदार्थको प्राप्ति हुन्छ ।
भगवान् शंकरमा अनुपम सामञ्जस्य, अद्भुत समन्वय र उत्कृष्ट सद्भावको दर्शन हुन्छ । त्यसैले वहाँको सत्प्रेरणाद्वारा विश्व–कल्याणको महान् कार्यमा प्रवृत्त हुनु मानवमात्रको परम कर्तव्य हो । भगवान् शिव अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ । गृहस्थ भएर पनि परम विरक्त हुनुहुन्छ । विषपान गरेका कारण नीलकण्ठ भएर पनि विषबाट अलिप्त हुनुहुन्छ । ऋद्धि–सिद्धिहरुका मालिक भएर पनि तिनीहरुबाट अलग हुनुहुन्छ । उग्र भएर पनि सौम्य (शान्त) र अकिंचन भैकन पनि सर्वेश्वर हुनुहुन्छ । निधारमा प्रलयकालको अग्नि र शिरमा परम शीतल गंगाजी वहाँको अनुपम शृंगारका रुपमा रहेका छन् । भगवान् शिवको सान्निध्यमा साँढे र सिंह त्यसैगरी मयूर र सर्पले एक–आपसमा रहेको वैरभावलाई सजिलै भुली एकसाथ क्रीडा गर्दछन् । यसले समस्त विरोधी भावहरुको विलक्षण समन्वयको शिक्षा दिने भएकाले विश्वलाई सह–अस्तित्व अपनाउनका लागि राम्रो मार्गनिर्देशन मिल्दछ ।
यसैगरी वहाँको श्रीविग्रहरूप शिवलिंग ब्रह्माण्ड र निराकार ब्रह्मको प्रतीक भएकोले सर्वपूज्य छ । निराकार ब्रह्मको कुनै रूप, रंग, आकार आदि नभए जस्तै शिवलिंगको पनि छैन । जसरी गणितमा शून्य केहि नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने (अनुकूल) भएर मानवमात्रलाई अनन्त सुख–समृद्धि प्रदान गर्नुहुन्छ भन्ने विश्वास जनमानसमा व्याप्त छ।
(लेखक: विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य हुन्।)