काठमाडौं – सरकारले प्रमाणपत्र तहलाई विस्थापित गरेको लामोसमय भइसक्दा पनि ११/१२ कक्षाको लागि अहिलेसम्म कुनै स्थायी शिक्षकको व्यवस्था नगरेको भन्दै साबिक उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरू पहिलो चरणको आन्दोलनमा जुटिरहेका छन् । त्यसै अनुरुप प्रधानमन्त्री, शिक्षामन्त्री र अर्थमन्त्रीलाई मोबाइल सन्देशमार्फत ध्यानाकर्षण गराएका छन्।
सरकारले संघीय शिक्षा ऐन जारी गर्ने सवालमा सरकारले ढिलासुस्ति देखाइरहेको सन्दर्भलाई मध्यनजर गर्दै शिक्षकहरु आन्दोलित बनेका हुन् । कडा खालको आन्दोलन घोषणाको तयारीमा रहेका शिक्षकहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र शिक्षामन्त्री देवेन्द्र पौडेलको मोबाइल नम्बरमा सन्देश पठाउँदै सचेत गराएका छन् ।
शिक्षकहरुले ‘कक्षा १२ सम्मको निःशुल्क शिक्षा तर स्थायी शिक्षक शून्य किन प्रधानमन्त्रीज्यू?’ भन्ने सन्देश सहितको ध्यानाकर्षण डिजिटल माध्यमबाट प्रेषित गरेका छन् ।