आज भाद्र कृष्ण अष्टमी अर्थात् भगवान् श्रीकृष्णको प्राकट्य दिवस। सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीहरुले अत्यन्तै श्रद्धा र भक्तिपुर्वक कृष्णको पुजा आराधना गरि मनाउने परम्परा रहिआएको छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला तथा पुरुषहरु व्रत बसी रातभर जाग्राम बस्ने समेत चलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त भएको ‘श्रीमद्भगवद्गीता’ लाई पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
भगवान् श्रीकृष्णको जन्म र लीला प्रसंग
धर्म रक्षाका निम्ति तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृत्तिको विनाश र साधुजनहरूको रक्षा गरी सनातन धर्मको संरक्षणका लागि भगवान् श्रीकृष्णको अवतरण यस धराधाममा भएको हो । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले आफ्नो अवतारको प्रयोजन आफैँ बताउनुहुन्छ :
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
अर्थात् जबजब यस धर्तीमा धर्म कमजोर बन्दै जान्छ त्यससमयमा म धर्म रक्षाका निम्ति अवतरित हुन्छु । साधु सन्त जनहरूको रक्षा र दुर्जनहरूको संहारको लागि म अनन्त कालसम्म पुनः पुनः जन्मिरहन्छु ।
पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई बहिनी ज्वाँइलाई पुर्याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ “कंस ! तँ जसलाई पुर्याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।” आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई बुझाउने वाचा गरेपछि मात्र कंस मान्न तयार भयो अनि वसुदेव र देवकी दुवैलाई कारागार चलान गर्यो । क्रमशः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मार्यो ।
देवकीको सातौँ गर्भलाई भने भगवती योगमायाले देवकीको गर्भबाट वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिदिनुभयो । शेष नागका अवतार मानिने बलराम देवकीको सातौँ गर्भ भएर पनि रोहिणीको कोखबाट जन्मनुभयो । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिनमा भगवान् अवतरित हुनुभयो । भगवान्को जन्मसँगसँगै चतुर्भुजरूपमा भगवान् विष्णुको दर्शन देवकी र वसुदेवले प्राप्त गरे । भगवान्बाट आफूलाई गोकुलको नन्द बाबाको घरमा पुर्याउने र नन्दबाबाको घरबाट छोरीको रूपमा जन्मेकी योगमायालाई कारागार ल्याउने हुकुम भयो ।
वसुदेवको हातका हत्कडीहरू आफैँ छुटे, कंसका सैनिकहरू मस्त निद्रामा परे, ढोकाहरू आफैँ खुले ।
घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिइन् तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए । कारागारमा आएपछि बल्ल सबै सैनिक ब्यँुझिए । कंसले बालिकारूपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई आकाशमा गएर शक्ति स्वरूप भएर “तँलाई मार्ने बालक जन्मिसकेको छ पापी !” भनी अन्तध्र्यान भइन् । कंसले त्यो दिनमा गोकुलमा जन्मिएका सबै बालकहरूलाई मार्यो तर भगवान् श्रीकृष्णको दैवी शक्तिको अगाडि उसको केही जोर चलेन । कंसले कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरूलाई कृष्णले बध गरे । कृष्णले अनेक लीलाहरू देखाए । जसलाई कृष्णचरित्र पनि भनिन्छ ।
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।