नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो ।
देवघाटस्थित जल मापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । गण्डक बाँधका ढोकाको चाबी सधैँ भारतले राख्ने गरेको छ ।
पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन् । नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।
गण्डक बाँधको क्षमता प्रतिसेकेन्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने रहे पनि पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न सक्दैन ।
भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काका अनुसार बाँधमा ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिने गरेकोमा मङ्गलवार २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने खड्काले बताएका छन् ।
यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्धारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
