रुपन्देही । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादीले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका हुन् ।
काँग्रेस र माओवादीबीच सुरुमा आलोपालो सरकार चलाउने भद्र सहमति भएपनि पछिल्लो समय मुख्यमन्त्री फेरिँदा अन्य प्रदेशमा पनि समस्या आउने भएको भन्दै मुख्यमन्त्री यथावत् राखेर मन्त्रीहरू परिवर्तन गर्न दुवै पार्टी सहमत भएका हुन् । काँग्रेसले हालका मन्त्रीहरू हटाएर नयाँ अनुहार ल्याउन शीर्ष नेताहरू पटक पटक छलफल भएको लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकुद्धिन खाँनले बताए ।
उनले बजेट पासपछि मन्त्री परिवर्तन गर्ने अनौपचारिक सहमति भएको भन्दै साउन दोस्रो हप्ताभित्र नयाँ मन्त्रिमण्डल गठन गर्ने पार्टी नेतृत्वले आन्तरिक तयारी गरेको दावी गरे । काँग्रेस जस्तै माओवादीभित्र पनि मुख्यमन्त्री बाहेक अन्य मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल भएको छ । नेकपा माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष एवं सांसद सुदर्शन बरालले नेपाली काँग्रेसले नयाँ मन्त्रीहरू नाम दिनसाथ माओवादीमा पहिलेदेखि मन्त्री हुन रुचि राख्नेहरू तयार रहेको बताए । उनले भने, ‘नेपाली काँग्रेसले नयाँ मन्त्रीको नाम दियो भने हामीलाई पनि नयाँ नाम दिन समस्या छैन साथीहरूको नाम करिब फाइनल जस्तै छ ।’