काठमाडौं । सरकारले नागरिकता विधेयकमा सांसदहरूले दर्ता गराएकोमध्ये केही संशोधन स्वीकार गरेको छ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा भएको दफावार छलफलको क्रममा संशोधन स्वीकार गरेका हुन्।
गृहमन्त्रीले स्वीकार गरेका संशोधनहरूमा ‘नागरिकता लिन चाहने व्यक्तिले आमा वा बाबुको थर उल्लेख गर्ने भन्ने रोज्न पाउने’ व्यवस्था हो। त्यस्तै ठेगाना पनि व्यक्तिले रोज्न पाइने भएको छ।
संशोधनमार्फत् सरकारले नागरिकतामा लैंगिक पहिचानको व्यवस्थालाई समेत स्वीकार गरेको छ।
‘व्यक्तिले लिंगको बारेमा जुन दाबी गर्छ, त्यसलाई सहजतापूर्वक स्वीकार गर्छ त्यसलाई मान्नुपर्छ भन्ने हो’, गृहमन्त्रीले भने, ‘विधेयक पेस भएपछि संसदको प्रक्रिया अनुसार सांसदहरूले विभिन्न संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको छ। केही स्वीकार गर्ने सरकारको निर्णय भएको छ।’
सरकारले सांसदहरूले हालेको संशोधनमार्फत् १६ वर्ष उमेर पूरा भएपछि वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था स्वीकार गरेको छ।
त्यस्तै, नागरिकताको अभिलेखमा आमा वा बाबुको नागरिकताको विवरण राख्ने व्यवस्था समेत सरकारले संशोधनमार्फत् स्वीकार गरेको छ।
सरकारले स्वीकार गरेको संशोधनहरूसहित अब यो विधेयक प्रतिनिधि सभामा निर्णयार्थ पेश हुनेछ।
सरकारको प्रस्ताव पारित भए नागरिकता विधेयक प्रतिनिधि सभाबाट टुंगो लाग्नेछ। प्रतिनिधि सभाबाट टुंगो लागेपछि यो विधेयकले ६० दिनभित्र राष्ट्रिय सभाबाट पारित भएपछि कानुनी हैसियत प्राप्त गर्नेछ।