राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै दलहरूसँग परामर्श गरेर साझा धारणासहितको परराष्ट्र नीति बनाउन आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल-चीन हिमालयन मैत्री समाजको कार्यक्रममा बोल्दै सबै दलहरूसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गरे।
‘अबको दिनमा परराष्ट्र नीतिको बारेमा कुनै दल विशेषको कुरा गर्नु भन्दा पनि सबै दलहरूको साझा नीति बन्नुपर्छ। यसका लागि सरकारले पहल गर्नुपर्छ। सबै दलहरू एकठाउँमा बसेर हाम्रो साझा परराष्ट्र नीति बनाउनुपर्छ भन्ने आग्रह गर्दछु,’ उनले भने।
उनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहोर्याएका थिए।
अहिले परराष्ट्र नीति चिन्ताजनक अवस्थामा समेत रहेको उनले बताए।
उनले पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढन सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने पनि दावी गरे।
‘आज भन्दा २५० वर्ष अगाडि बडामहाराज पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगो बीचको तरुल हो भनेर नेपालको परराष्ट्र नीतिबारे भू राजनीतिक जो संवेदनशीलता हो। उत्तर र दक्षिणका छिमेकहरुको जो अवस्थिति हो। त्यसलाई ध्यानमा राखेर परराष्ट्र नीति बनाइएको थियो,’ उनले भने,‘पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई लिने हो भने केवल परराष्ट्र नीतिमात्र होईन। विना पूवाग्रह भएर हेर्ने हो भने एउटा राष्ट्रिय नीति नै बन्न सक्दछ।’