राम अवतार चाैधरी
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-३ का किसान महेन्द्र केवटले आफूले लगाएकाे भिन्डी नबिकेपछि भैंसीलाई आहार बनाएका छन् । सुनबर्षीमा लामाे समयदेखि बसाेबास गर्दै आएका छन् । केवटका बाबाआमाले विगत डेढ दशकदेखि तरकारी उत्पादन गरि व्यापार गर्दै आएका छन् ।
घरपरिवारकाे पेशालाई निरन्तरता दिँदै केही बर्ष यता व्यापार बढाउनतर्फ लागे महेन्द्र । विगतमा काेभिड प्रभावपछि तरकारी खेतिमा रुचि बढाउँदै गएका केवट अहिले १८ कठ्ठा आफ्नै जग्गामा आधुनिक तरिकाले खेति सुरु गरेका छन् । तरकारीमा उनले भिन्डी, घिर्मला, खुर्सानी, खिरा, बाेंडी लगायत अन्य तरकारी फलाउने गरेका छन् । स्नातक पास गरेर आफ्नै पुर्खाले अंगालेकाे पेशालाई आधुनिक तरिकाले गाउँघरमै परिवारसँग मिलेर आर्थिक उपार्जन गर्ने हेतुले उनी अगाडि बढाउन खाेजे ।
तर खुला भारतीय सिमानाले गर्दा आफूले उत्पादन गरेकाे तरकारी बजारमा मुल्य नपाउँदा दुखेसो पाेखेका छन् । दुखेसो पाेख्दै केवटले भने: `न्युनतम मुल्य समेत नपाएर भैंसीलाई खुवाउनु बाध्यता छ ।´ उनले थपे : `मेहनत त परै जाओस् बीउबिजन र किटनाषक औषधीकाे लगानी समेत निस्किन सकेकाे छैन् । यसरी बजारमा तरकारीले मूल्य नपाएपछि परिवार कसरी चलाउने चिन्ता लागेकाे छ ।´ बुधबार चन्द्राैटा हातबजारमा ४० किलाे भिन्डी लैंजादा १० मात्र बिक्री भएकाे केवटले भने ।
प्रति केजी ५ रुपैयाँमा बिक्री गर्दा समेत नबिक्दा घर फिर्ता लागेर भैंसीलाई खुवाउन बाध्य भएकाे उनले बताए । अर्काे पटक शुक्रबार हल्लानगर बजार लैंजादा २५ केजी लैंजादा ७ किलाे बिक्री भएकाे थियाे । स्थानीय हाटबजारमा लैजाँदा ठूला व्यापारीले भारतबाट आएकाे तरकारी सस्ताे मूल्यमा पाएकाेले स्थानीयस्तरमा उत्पादन गरेकाे तरकारी खरिद नगरेकाे केवटले जनाए ।
खुल्ला सिमाना बन्द गरि स्वादेशी उत्पादनलाई बजारमा प्राथमिकताका साथ व्यवस्थापन गराई कृषककाे समस्यालाई समाधान गर्न सम्बन्धित निकायले पहल गर्न जरुरी रहेकाे उनले जाेड दिए । पछिल्लो समय भारतीय तरकारी नेपाली बजारमा अत्यधिक उपलब्ध भएकाेले स्थानीय कृषक मर्कामा पर्दै आएका छन् । महेन्द्र आफू एक पात्र मात्र हुन् उनी जस्ता कयौं कृषक यस्तै पिडामा रहेका उनकाे तर्क छ ।