अर्घाखाँची । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुस्पा भुसालले नेपालका कम्युनिस्ट पार्टीका नेताहरु सरकारमा गएपछि देशको ढुकुटी रित्याउन लागी परेको बताएकी छिन्। उनले कम्युनिष्ट पार्टीका नेताहरुले जनतालाई भन्दा पार्टी र कार्यकर्तालाई माथि राखेर काम गर्ने गरेको आरोप लगाइन्।
कम्युनिष्ट सरकारले देशको ढुकुटी रित्याएको र जसका कारण देशमा आर्थिक संकट उत्पन्न हुन थालेको बताउँदै नेपाली कांग्रेस आर्थिक समृद्धी बनाउन लागी परेको बताइन्। नेपाली कांग्रेस अर्घाखाँचीले वीपी स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी भुसालले स्थानीय सरकार बलियो बनाउन कानुन बनाउन दवाब दिदाँपनि एमालेले वास्ता नगरेको बताइन्।
उनले भनिन् ‘नेपाल मात्र यस्तो देश हो, परिवर्तन नेपाली कांग्रेसले गर्छ सत्ता कम्युनिस्टले चलाउछ।’ उनले ‘लोकतान्त्रिक पद्धतिको निर्वाचनमा जाने नेपालका कम्युनिष्टहरुले कहिले पनि परिवर्तको नेतृत्व सम्हाल्न नसकेको बताइन्।’
लोकतन्त्रको पर्यावाची नेपाली कांग्रेस रहेको बताउँदै नेता भुसालले जनताले तिरेको कर भ्रष्टाचारमा लगाउन नदिन कांग्रेसले तीनै तहको नेतृत्व गर्नुपर्ने बताइन्। उनले मुलुकको राजनीतिको बागडोर सम्हाल्न कांग्रेस बाहेक कसैले नसकेको बताइन्। उनले देशमा तीनै तहको निर्वाचन भए पनि लोकतन्त्र र परिवर्तन संस्थागत हुन नसकेको बताइन्।
नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नेता डाक्टर रामबहादुर विसि, नेपाली काग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री निमा गिरी, नेपाली कांग्रेसका पूर्व जिल्ला पाटी सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल, नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल लगायतले मन्तब्य राखेका थिए।