बिष्णु खनाल
सन्धिखर्क । अर्घाखाँची जिल्लामा प्रतिगमनका विरुद्ध गठबन्धनका ५ दल एक ठाउँ उभिएका छन् । आगामी स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा प्रतिगमनलाई परास्त गर्नका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले पालिका स्तरमा संयुक्त कार्यक्रम गर्न शुरु गरेका छन् ।
जिल्लाको शितगंगा नगरपालिकाको ठाडामा भएको गठबन्धन दलको संयुक्त अगुवा बैठकमा नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रतिगमनको मतियारलाई आगामी तीनै तहको निर्वाचनमा परास्त गर्नका लागि गाउँदेखि जिल्लासम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका सभापति केशव श्रेष्ठले तीनै तहको निर्वाचन जित्न मात्र नभई देश बनाउन, सीमा सुरक्षा, राष्ट्रियताका निम्ति ५ दलिय गठबन्धन कायम रहने बताए । आगामी निर्वाचनमा ईमान्दारिताका साथ लाग्न नेता तथा कार्यकर्ताहरुलाई उनले निर्देशन दिए ।
शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगार जस्ता सबैलाई मान्य हुने खालका सुविधा दिन भन्दै केपी ओली नेतृत्वको पार्टीलाई ५ वर्षका लागि जनताले दिएको म्यान्डेटलाई कुल्चेर दुई पटकसम्म संसद विघटन गरेर प्रतिगमन तर्फ उन्मुख भएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्रकी जिल्ला ईञ्चार्ज शुसिला श्रीपालीले तीनै तहको निर्वाचनलाई लक्षित गरि नभई केपी ओलीको दम्भलाई तोड्नका लागि गठबन्धन गरेको बताईन् । उनले संविधानको रक्षार्थ जिल्ला र देशको विकासका निम्ति गठबन्धन अपरिहार्य भएको बताईन् ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले केपी ओलीको प्रतिगमनलाई परास्त गरि देशलाई मुल ट्रयाकमा ल्याउन सफल भएको बताउँदै उनले आगामी दिनमा पनि गठबन्धनका दल एक ढिक्का भएर लाग्ने बताएका छन् ।
राष्ट्रिय जनमोर्चा लुम्बिनि प्रदेश ईञ्चार्ज शेर बहादुर बिसिले गाउँ तहसम्म टिम बनाएर ईमान्दारिताका साथ लाग्न सकेमात्र सबै निर्वाचनमा सफल हुन सक्ने बताए । उनले आगामी निर्वाचनमा गठबन्धनको जीत सुनिस्चित रहेको बताएका छन् ।
कार्यक्रममा जनता समाजवादीका जिल्ला सचिव जेबि दर्लामी, काँग्रेस महाधिवेशन प्रतिनिधि तथा शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका नेता तथा शितगगा उपप्रमुख टिका रेश्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा माओवादी केन्द्र शितगंगा नगर अध्यक्ष मनिराम अधिकारीको अध्यक्षता, एकिकृत समाजवादी नगर अध्यक्ष नारायण बेल्बासेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा
कार्यक्रममा नेपाली कांग्रेसका पुर्ब जिल्ला सचिव छविलाल पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, कांग्रेसका नगर सभापति मोहन पन्थी, नेकपा माओवादीका नगर इन्चार्ज विनोद गैरे, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष गोविन्द थापा लगायतका अगुवा नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।