१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

अन्तर्राष्ट्रिय पुरस्कार पाएको बुटवलको नवीन स्कुल देशकै नमूना बन्दै

spot_img

भगवती पाण्डे
बुटवल –  २०३३ सालमा स्थापना हुँदा बुटवलको ‘नवीन औद्योगिक निम्न माध्यमिक विद्यालय’ का विद्यार्थीहरू टिनको छानोमुनिको टहरामा बसेर पढ्थे। बुटवलको देवीनगर, सुकुम्बासी बस्तीनजिकै रहेकोले उक्त विद्यालयमा पढ्न आउने अधिकांश विद्यार्थी पनि सुकुम्बासी बस्तीकै हुन्थे।

विद्यालय पोशाकको कुरै थिएन, विद्यार्थीका खुट्टामा चप्पल समेत हुँदैन थियो। बुटवलका शिक्षाप्रेमीहरूले विद्यालयको सुधारको प्रयास नगरेका पनि होइनन् तर आर्थिक अभावले भौतिक पूर्वाधार बढाउन नसक्दा विद्यालय ३० वर्षसम्म निम्न माध्यमिक नै रह्यो।

त्यही विद्यालयले निरन्तर अन्तर्राष्ट्रिय पुरस्कार जितिरहेको छ भने नमूना विद्यालयमा पनि दर्ज भएको छ।

स्थापनाको २० वर्षपछि नवीन औद्योगिक निम्न माध्यमिक विद्यालयमा करिब छ सय जना विद्यार्थी थिए। समाजमा छोराछोरी निजी विद्यालयमा पठाउने क्रम बढ्दो थियो। विद्यार्थी संख्या घट्दै २०६० सालमा चार सयमा झर्यो।

२०५३ सालमा शिक्षक नियुक्त भएका प्रेमबहादुर बस्नेत २०६० सालमा प्रधानाध्यापक हुँदा कदरबहादुर रायमाझी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए।

विद्यालय सुधारका काममा प्रधानाध्यापक बस्नेत र अध्यक्ष रायमाझीको पोयो मिल्यो। उनीहरू विद्यालयमा शैक्षिक र भौतिक सुधार गर्न संयुक्त प्रयासमा अघि बढे।

अध्यक्ष रायमाझीले विद्यालयको सुधारका लागि दुई वर्षमा ४० लाख रुपैयाँ चन्दा संकलन गरे। व्यवस्थापन समितिले कम्तीमा १० लाख रुपैयाँ चन्दा दिने दाताको नाम विद्यालयको नाममा समावेश गर्ने निर्णय गर्यो। धेरै चन्दा दिन पनि रायमाझी नै अघि सरे। चन्दाकै रकमबाट २०६१ सालमा पक्की भवन निर्माण भयो।

विद्यालय २०६३ सालमा माध्यमिक तहमा बढुवा भयो। व्यवस्थापन समितिको निर्णयअनुसार २०६७ साल माघमा विद्यालयको नाम संशोधान गरेर ‘नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय’ राखियो। शिक्षा नियमावलीमा यसरी नाम संशोधन गर्न सकिने व्यवस्था छ।

पक्की भवनमा पढाइ हुन थालेपछि विद्यार्थी संख्या बढ्न थाल्यो। विद्यालय १० कक्षासम्ममा मात्र सीमित रहेन, २०६८ सालमा व्यवस्थापन संकायमा ११ कक्षा को पढाइ सुरु भयो। त्यसको एक वर्षपछि २०६९ सालमा कक्षा ९ मा प्राविधिकतर्फ सिभिल इन्जिनियरिङ विषयको पढाइ सुरु भयो र २०७२ सालमा १२ कक्षासम्म पुग्यो।

अहिले कक्षा ११ र कक्षा १२ मा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कानून र शिक्षा संकायको पढाइ हुन्छ।

नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय २०७० सालमा देशभरका ३३ वटा उत्कृष्ट विद्यालयमध्ये उन्नाइसौँ स्थानमा पर्यो। २०७५ सालको विद्यालय शिक्षा परीक्षा (एसएइई) मा मा लुम्बिनी प्रदेशमा पाँचौँ र रुपन्देही जिल्लामा दोस्रो भयो।

उक्त विद्यालयले सन् २०१७ मा ब्रिटिस काउन्सिलले दिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड पाएको थियो। प्रधानाध्यापक बस्नेतसहित १३ जना शिक्षकले राष्ट्रिय शिक्षा पुरस्कार पनि प्राप्त गरेका छन्।

प्रधानाध्यापक बस्नेतका अनुसार शिक्षक, व्यवस्थापन समिति र स्थानीय समुदायको संयुक्त प्रयासले विद्यालय राष्ट्रियस्तरमा उत्कृष्ट र नमूना हुन सकेको हो।

‘विद्यालय कस्तो बनाउने भन्ने कुरा शिक्षकको हातमा हुन्छ,’ बस्नेत भन्छन्, ‘आफ्नो दायित्व र जिम्मेवारीबाट पन्छिन नदिई शिक्षकलाई जागिरमुखी मानसिकताबाट पेशामुखी तुल्याउन सके परिवर्तन सम्भव रहेछ।’

यस विद्यालयका विद्यार्थीहरूमध्ये हरेक वर्ष चार–पाँच जनाले सिभिल इन्जिनियरिङतर्फ स्नातक तहमा छात्रवृत्तिमा नाम निकाल्ने गरेको बस्नेतले बताए। उनका अनुसार गत वर्ष १२ कक्षा उत्तीर्ण गरेका पाँच जना विद्यार्थीले पुल्चोक इन्जिनियरिङ कलेजमा छात्रवृत्तिमा नाम निकाले। दुई जनाले पोखरा विश्वविद्यालयमा भर्ना पाए।

प्रधानाध्यापक बस्नेका अनुसार २०७६ सालमा कक्षा १२ मा व्यवस्थापनतर्फ उक्त विद्यालयकी छात्रा अपेक्षा चौधरीले ग्रेड प्वाइन्ट एभरेज (जिपीए) चार हासिल गरिन्। सिभिल इन्जिनियररिङतर्फ विपिन अधिकारी र सागर पाण्डेले उत्कृष्ट नतिजा ल्याए।

राम्रो नतिजा हासिल गर्न अतिरिक्त कक्षा समेत सञ्चालन गर्ने गरेको प्रधानाध्यापक बस्नेतले बताए। ‘विज्ञान संकायका विद्यार्थीलाई साँझ साढे सात बजेसम्म विद्यालयमै पढाउँछौँ, घर गएपछि राति साढे १० बजेसम्म अनलाइनमार्फत पढाउँछौँ,’ उनले भने, ‘एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि कक्षा १२ को परीक्षा लगत्तै तयारी कक्षा चलाउने योजनामा छौँ।’

व्यवस्थापनतर्फ कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूका लागि विद्यालयमै लेखासम्बन्धी तालिम चलाउने गरिएको छ। बजारमा रोजगारी प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले यस्तो तालिम चलाउने गरिएको प्रधानाध्यापक बस्नेतको भनाइ छ।

उनका अनुसार विद्यार्थीहरूले सार्वजनिक वक्तृत्वकला, उद्घोषण लगायतमा पनि तालिम पाउँछन्। कानूनका विद्यार्थीलाई अदालतमा र इन्जिनियरिङका विद्यार्थीलाई उपयुक्त निकायहरूमा प्रयोगात्मक अभ्यास गराउने गरिएको छ।

‘हातमा सर्टिफिकेट भएर मात्र हुँदैन, व्यावहारिक ज्ञान भएन भने बजारमा प्रतिस्पर्धा गर्न सक्दैन,’ प्रधानाध्यापक बस्नेत भन्छन्, ‘यहाँबाट पास भएर निस्किने विद्यार्थी माइन्युट लेख्न, निवेदन लेख्न, सानोतिनो कार्यक्रम सञ्चालन अब्बल होस् भन्ने हाम्रो उद्देश्य हो।’

विद्यालयका विद्यार्थी सागर पोखरेलले ब्याक गियरसहितको इलेक्ट्रिक मोटरसाइकल बनाएर सफल परीक्षण गरेका थिए।

अर्घाखाँची घर भएकी विपना पुरी व्यवस्थापन विषयमा कक्षा १२ मा पढ्छिन्। उनी यो विद्यालय राम्रो छ भन्ने सुनेर आफू नौ कक्षामा भर्ना हुन आएको र सुनेको जस्तै राम्रो पाएको बताउँछिन्।

अर्की विद्यार्थी जुना परियार पनि उक्त विद्यालयमा नौ कक्षामै भर्ना भएकी हुन्। अहिले विज्ञान संकायमा कक्षा ११ मा पढ्दै छिन्। उनी शिक्षकहरूको प्रोत्साहन र हौसलाले आफूले विज्ञान विषय पढेको तथा भाषणकला र वक्तृत्वकला प्रतियोगितामा पनि सहभागी हुने गरेको बताउँछिन्।

विद्यालयले आन्तरिक मूल्यांकन प्रणाली बलियो बनाएको र पढाइप्रति विद्यार्थीको रुचि जगाउन सकेको प्रधानाध्यापक बस्नेत बताउँछन्। विद्यार्थीको शैक्षिक प्रगतिबारे जानकारी गराउन हरेक महिना अभिभावक भेला गर्ने गरिएको छ।

‘विद्यार्थीको भविष्य, अभिभावकको लगानी र विद्यालयको प्रतिष्ठा सबै विचार गरेर हामी लागिपरेका छौँ,’ बस्नेत भन्छन्, ‘शिक्षक–अभिभावक भेलामा विद्यालयका सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीबारे छलफल गर्छौं।’

उक्त विद्यालयको अहिले बुटवल बजारको करिब मध्य भागमा कुल साढे दुई बिघा क्षेत्रफल रहेको छ। सुविधा सम्पन्न चारवटा पक्की भवन छन्। मन्टेश्वरीदेखि कक्षा १२ सम्म ६३ वटा कोठामा स्मार्ट प्रविधिबाट पढाइ हुन्छ। विद्यालयमा प्राकृतिक वातावरण बनाउन हरियाली बढाइएको छ।

नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयलाई लुम्बिनी प्रदेश सरकारले २०७६ सालमा प्रदेशको ‘नमूना विद्यालय’ घोषणा गरेको छ।

नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका, २०७६ ले नमुना विद्यालय सञ्चालनको मापदण्ड तय गरेको छ। यसअनुसार नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक सुधार, छात्रावास, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला आइसिटी, नर्स, खेलकुद प्रशिक्षक, खेल मैदान, शौचालय लगायत सबै मापदण्ड पूरा गरेको छ।

विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष कृष्णप्रसाद खरेलका अनुसार अहिले १५० जना शिक्षक कर्मचारी छन्। हाल ३ हजार ६१५ जना विद्यार्थी छन्। सरकारले ४० वटामात्रै दरबन्दी दिएको छ। बाँकी शिक्षक कर्मचारीको तलबभत्ता निजी स्रोतबाट व्यहोर्ने गरिएको छ।

प्रधानाध्यापक बस्नेतका अनुसार विद्यालयको सफलताको मुख्य श्रेय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रायमाझीलाई जान्छ। ‘विद्यालय यहाँसम्म ल्याउन उहाँ (रायमाझी) को योगदान महत्वपूर्ण छ,’ उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म विद्यालयमै बस्नुहुन्थ्यो। विद्यालय अवलोकनका लागि विभिन्न व्यक्तिहरूलाई ल्याउनुहुन्थ्यो।’

विद्यालय सफल हुनमा अंग्रेजी माध्यममा पढाइ हुनु पनि एक हो। बस्नेतका अनुसार अंग्रेजी माध्यमका लागि निजी विद्यालय जाने विद्यार्थी तान्न नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले पनि २०६४ सालमा अंग्रेजी माध्यममै पढाउन थाल्यो।

जीवनोपयोगी सिप विकाससहितको पठनपाठन हुने भएकाले नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा लगायत जिल्लाबाट आउने गरेका छन्। हरेक वर्ष विद्यार्थी संख्या बढ्दो क्रममा छ।

 

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै