काठमाडौं । सन्दीप लामिछाने नेपालको एकदिवसीय टिमको पनि कप्तान हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई टी-२० सँगै एकदिवसीय टिमको पनि कप्तानी दिइएको जनाएको हो।
क्यानका कार्यवाहक सचिव प्रशन्त मल्लले सन्दीपलाई एकदिवसीय टिमको पनि कप्तानको जिम्मेवारी दिइएको जानकारी दिए।
क्यानले यसअघि तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ललाई हटाउँदै सन्दीपलाई नयाँ कप्तानको जिम्मेवारी दिइएको थियो। क्यानले उपकप्तानको जिम्मेवारी कसैलाई दिएको छैन। क्यानले आवश्यक परे मात्र उकप्तान नियुक्त गर्ने जनाएको छ।
सन्दीपको कप्तानीमा नेपालले चार देशसम्मिलित टी-२० सिरिज र टी-२० विश्वकप छनोट खेलेको थियो।
अब सन्दीपको कप्तानीमा नेपालले आगामी महिना युएईमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।
सिरिजमा नेपालसहित घरेलु टिम युएई र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग मार्च १६ शारजाहमा प्रतिस्पर्धा गर्नेछ।
नेपालले सिरिजमा दुवै टिमसँग दुई दुई खेल गरी चार एकदिवसीय खेल खेल्नेछ।
लिग-२ मा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ। दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो।
यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। लिग-२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। ८ अंक जोडेको नेपाल अंक तालिकामा छैटौं स्थानमा छ।
शीर्ष स्थानमा ओमान २३ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डले १२ खेलबाट १६ अंक जोडेको छ।
तेस्रो स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक र चौथो स्थानको युएईको १० खेलबाट १२ अंक छ नामिबिया ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ। नेपालभन्दा पछि रहेको पपुवा न्युगिनीले १२ खेल खेल्दा अंक जोड्न सकेको छैन।
त्रिकोणात्मक सिरिज खेल तालिका
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च १६- शारजाह
नेपाल भर्सेस युएई – मार्च १८- दुबई
नेपाल भर्सेस युएई – मार्च २१- दुबई
नेपाल भर्सेस पपुवा न्युगिनी – मार्च २२- दुबई