काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको हो।
भेटमा गृहमन्त्री खाणले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए।
गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको बताए।
‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गराउन दृढ हुनुहुन्थ्यो। उहाँ प्रतिपक्षमा रहँदा पनि एमसिसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको थियो,’ गृहमन्त्री खाणले भेटमा भने, ‘एकातिर एमसिसी पास गर्नु थियो। अर्कोतिर सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नु थियो। एमसिसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो। जुन सफल भयो। सबै नेपाली जनता र नेपाल सरकार खुसी छौं।’
भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसिसी पास हुन सकेको बताए।
एमसिसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले बताए।
एमसिसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणामा आफूहरूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको राजदूत बेरीले बताए।