नमामि शमीशान निर्वाण रूपं,
विभुं व्यापकं ब्रह्म वेद: स्वरुपम् ।
निजं निर्गुणं निर्विकल्पं निरीहं,
चिदाकाश मकाशवासं भजेऽहम् ।
प्रतेक वर्षको फाल्गुण कृष्णपक्षको चतुर्दशीका दिन मनाइने पवित्र एवं आध्यात्मिक पर्व हो महा शिवरात्री । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस पावन पर्वमा देशभरका शिबमन्दिरहरुमा पूजाअर्चना गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ ।यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट विभिन्न समयमा जानी–नजानी गरिएका पाप कर्मको प्रायश्चित्त भइ मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।
शिवरात्रीलाई भगवान् शिवको प्यारो दिनका रूपमा पनि लिइन्छ । यसै दिन भगवान शिवको उत्पत्ति र शिव पार्वतीको विवाह भएको पाइन्छ र यस दिनलाई भगवान शिवद्वारा ताण्डव नृत्य गरिएको दिनको रुपमा पनि लिइने गरिन्छ । पौराणिक कथा अनुसार समुद्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफनो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको कथा रुद्रीको महत्वसँग जोडिएको छ । विष निलेर घाँटीमा राखेको हुनाले भगवान शिवलाई निलकण्ठ पनि भनिन्छ ।
यो संसार तीन तत्व(शक्ति)ले चलायमान छ,ती हुन् → ब्रह्मशक्ति, विष्णुशक्ति र शिवशक्ति। संसारमा जति पनि प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन् ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालन (पोषित) हुने काम हामी पालन शक्तिका माध्यमले गर्दछौँ । त्यस्तै समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो । ब्रह्मशक्तिका देवता ब्रह्मा हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् भने संहार वा विनाश शक्तिका देवता शिव हुन् ।
शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्ने पनि भगवान् हुन सक्छ ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ र ? संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ । दिन रात, असल, खराब, कीट, मनुष्य, पशु, वनस्पति सबै भगवद्शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा हुनुहुन्छ भने मृत्युमा पनि हुनुहुन्छ, सिर्जनामा हुनुहुन्छ र विनाशमा पनि हुनुहुन्छ । संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्यकता हो ।
विनाश पनि एउटा विशुद्ध शक्ति हो । कुनै पनि कुरा समाप्त गर्न शक्ति चाहिन्छ, साहस र हिम्मत चाहिन्छ । संसारका सबै कामहरू विनाशक्ति सम्पन्न हुन सक्दैनन् । यदि सबै क्रियाका लागि शक्तिको आवश्यकता हुन्छ भने संहारका लागि पनि शक्ति चाहिन्छ । त्यसैले, संहारशक्तिका रूपमा भगवान् शिव पूज्य र बन्दनीय हुनुभएको हो । भगवानका अगाडि सबै दोष, पीडा, भय, असुरक्षा, तनाव र विसङ्गतिहरू पनि कमजोर हुन्छन् । ती सम्पूर्ण नराम्रा शक्तिको प्रभावबाट मुक्त रहन सक्ने क्षमता भएर नै भगवान् शिव कल्याणका देवता मान्न सकिएको हो ।
लेखक: कृष्ण मा.वि. पाणिनी ५,अर्घाखाँचीमा कार्यरत शिक्षक हुन् ।