९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

आज संसद बैठकमा एमसीसीमाथि छलफल हुने

spot_img

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ।

संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।

सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन्।फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो। अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएकाले सञ्चार मन्त्रीले प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ।

दलहरूबीच एमसीसीका बारेमा साझा धारण बनाउने प्रयास भइरहेको छ। तर सत्तारुढ दलबीच नै यसबारे मत बाझिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा छ।

नेपाली कांग्रेसको ह्वीप

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ।

कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको जानकारी दिइन्।
एमसिसीको पक्षमा उभिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने भएको छ।

बुधबार काठमाडौंमा बसेको लोसपा संसदीय दलको बैठकले संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको लोसपा सांसद चन्दा चौधरीले जानकारी दिइन्।

‘एमसिसी सरकारले गरेको सम्झौता हो। यसबाट पछाडि हट्दा देशको विश्वसनीयतामाथि प्रश्न उठ्छ’, सांसद चौधरीले भनिन्,‘पहिला नै सम्झौता नगरेको भए एउटा कुरा हुन्थ्यो। सम्झौता गरिसकेपछि त्यसलाई असफल पार्नु हुँदैन भन्ने लोसपाको स्पष्ट धारणा छ।’

उनले लोसपाले एमसिसीको पक्षमा बहस गर्ने र त्यसलाई पारित गर्न सघाउने बताइन्।

बिहिबारको बैठकमा सबै सांसदहरूलाई उपस्थित हुन लोसपाले निर्देशनसमेत दिएको छ। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्।

नेकपा एमालेको अडान
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीले कारवाही गरेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेसम्म एमसीसीको प्रक्रियामै भाग नलिने बताएको छ।

एमालेका महासचिव शंकर पोखरेलले संसदको अवरोध कायमै राख्ने बताउँदै आफ्नो माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिने बताए।

उनले सरकारले एमसिसी पारित गर्न एमालेसँग सहयोग मागेको भए पनि संसदका गतिविधिमा भाग लिन एमालेले राखेका मागहरू सम्बोधन गर्नुपर्ने र माग सम्बोधन नहुँदासम्म एमालेले एमसिसीको विषयमा कुनै धारणा नदिने स्पष्ट पारे।

‘एमालेले कारवाही गरेका १४ जना सांसदहरूलाई सांसद पदबाट नहटाएसम्म एमालेले कुनै पनि धारणा दिँदैन, संसदमा छलफल अगाडि बढाउन पहिले हाम्रा माग सम्बोधन हुनुपर्‍यो, गैरसांसद राखेर संसद चलाउन सकिँदैन,’ पोखरेलले भने।

उनले सत्तामा सहभागी एउटा पक्षले प्रस्ताव टेबुल गर्ने र अर्को पक्षले सरकारकाविरुद्ध सडकमा ढुंगामुढा गरेर रमिता देखाएको आरोपसमेत लगाएका छन्।

माओवादी र एकीकृत समाजवादी विपक्षमा
सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन्।

माओवादी केन्द्रको स्थायी समिति बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। समाजवादीको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै