काठमाडौं । विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ ।
प्रतिवेदन कार्यान्वयनमा आएपछि प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)देखि शिक्षा पेशमा आवद्ध सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई फाइदा हुने महासंघले जनाएको छ । उक्त प्रतिवेदन सम्पूर्ण शिक्षकहरुका समस्याहरु समेटिएकाले उक्त प्रतिवेदन लागु भएपछि शैक्षिक क्षेत्रमा आवद्ध सम्पूर्णलाई फाइदा पुग्ने महासंघको भनाइ छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीसहितको समितिले बुझाएको ५१ बुँदे प्रतिवेदन कार्यान्वयनमा लैजान विषयमा शिक्षा मन्त्रालयले महासंघसँग सहमति गरेको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले सोमबार महासंघकी अध्यक्ष कमला देवी तुलाधरसहितको टोलीसँग प्रतिवेदनलाई कानूनसम्मत ढंगले लागू गर्ने प्रतिवद्धता जनाएका हुन । उक्त कार्यदलले ९ फागुन २०७५ मा मन्त्रालय र महासंघबीच भएको सहमति अध्ययन गरी १ फागुनमा ५१ बुँदे प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो ।