काठमाडौं । काठमाडौंको बानेश्वरमा भएको एमसिसीविरूद्धको प्रदर्शनमा ३० राउन्ड रबर बुलेट प्रहार भएको छ।
आइतबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल भएपछि संसद भवन बाहिर प्रदर्शन जारी थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
त्यसक्रममा प्रहरीले ३० राउन्ड रबरको गोली हानेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
त्यस्तै प्रहरीले ११५ सेल अश्रुग्यास पनि प्रहार गरिएको उनले बताए।
‘तनावपूर्ण अवस्था सिर्जना भएपछि रबरको बुलेट पनि हानिएको थियो। तर कसैलाई लागेको भने छैन,’ उनले भने।
प्रदर्शनकारीहरूले पनि प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा समेत प्रहार गरेका थिए। सुरूमा भीडलाई तितरवितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहरा प्रहार गरेको थियो।
सशस्त्र प्रहरीको एउटासहित तीन वटा वाटर क्याननको प्रयोग गरिएको थियो।
पछि अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्ज, अश्रुग्यास र रबरको बुलेटले प्रहार गरेको हो।
दोहोरो झडप हुँदा प्रहरीको तर्फबाट १६ जना घाइते समेत भएका छन्। यता प्रदर्शनकारीको तर्फबाट ७ जना घाइते भएको प्रहरी उपरीक्षक राठौरले बताए।