रुपन्देही । लुम्बिनी प्रदेशमा पहिलो पटक सवारी लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवलको वडा नम्बर १३ मा २ विघा जग्गा व्यवस्थापन गरी ट्रायल सेन्टर सञ्चालमा आएको हो । एकै पटकमा १ हजारभन्दा बढीले ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हो ।
एकै दिन झण्डै ८ सय मोटरसाईकल र २ सयवटा चारपाङ्ग्रे सवारी साधनको लाईसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको यातायात तथा सवारी चालक अनुमति पत्र रुपन्देहीका कार्यालय प्रमुख तेजनारायण यादवले जानकारी दिए । प्रदेश सरकारले ट्रायल सेन्टर यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयलाई हस्तान्तरण गरेको भन्दै उनले कार्यालय पनि ट्रायल सेन्टरको कम्पाउण्डमै रहेकाले नेपालकै नमुना भएको बताए ।
ट्रायल सेन्टर र लाईसेन्सको कार्यालय एकै ठाउँमा भएकाले जनताले सहज रूपमा ट्रायल दिन सक्ने उनले बताए । प्रयोगात्मक परीक्षा ‘ट्रायल’लाई थप व्यवस्थित बनाउँदै बिचौलियाको अन्त्य गर्नका लागि सेवाग्राहीहरूलाई कार्यालय आफैंले सवारी साधनसमेत उपलब्ध गराउने भएको छ । ‘अब दैनिक ८ सय परीक्षार्थीले दुईपाङ्ग्रे सवारी साधनका लागि परीक्षा दिन पाउने छन्,’ यादवले भने, ‘साढे ३ सय बढी परीक्षार्थीले मझौला तथा ठूला सवारी साधनका लागि प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछन् ।’