काठमाडाैँ । राजधानीकाे कलङ्कीस्थित ढुंगेअड्डाको एक पेट्रोल पम्पछेउमा दुईवटा शंकास्पद प्रेसर कुकर भेटिएको छ।
‘नो एमसीसी’ लेखेकाे कालिका पेट्रोल पम्पछेउमा प्रेसर कुकर फेला परेको बताइएकाे छ। शंकास्पद दुईवटा प्रेसर कुकर फेला परेपछि विस्फोटक पदार्थ भएको आशङ्का गरिएकाे छ। कलङ्कीक्षेत्रमा फेला परेका शंकास्पद वस्तु सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
घटनास्थलमा प्रहरी र सशस्त्रसँगै नेपाली सेना समेत पुगेको छ। विस्फोटक पदार्थ भएको खण्डमा पम्प भएकाले निकै जोखिम हुने भएकाले सेनाले बम डिस्पोजको प्रयास गरिरहेको छ।
अमेरिकी सहयोग सम्झौताको विरोध भइरहेपनि यसरी विस्फोटक पदार्थ राख्ने शङ्कास्पद गतिविधि भने भएको थिएन। सरकारले आज सो सम्झौता संसद्मा टेबल गर्ने तयारी गरिरहेको छ।