काठमाडौं । कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तीन दिनसम्म दीपावलीसहित विभिन्न कार्यक्रम गर्ने भएको छ।
बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ-संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दीपावली गर्ने निर्णय गरेको छ।
यस्तै, कर्णाली प्रदेशभरका नागरिकले पनि आ–आफ्नो घरमा तीन दिनसम्म दीपावली गर्न सरकारले आग्रह गरेको छ।
प्रजातन्त्र दिवसकै अवसरमा प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ-संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरूमा राष्ट्रिय झण्डा फहराइने छ।
स्थानीय प्रशासनसँगको सहकार्यमा शनिबार वीरेन्द्रनगर-४ स्थित शहिदपार्कमा मुख्यमन्त्री, सरकारका मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाई गर्ने तालिका बनाइएको छ।