काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार पनि छलफल भएको छ।
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बिहीबार बिहानै बालुवाटार पुगेका थिए। बालुवाटारमा उनीहरूबीच आधा घन्टा जति छलफल भएको स्रोतले बतायो।
दुई नेताको छलफलपछि दिउँसो तीन बजेका लागि डाकिएको सत्तारूढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको छ।
प्रधानमन्त्री देउवा प्रेस प्रमुख गोविन्द परियारका अनुसार तीन बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाले बैठक पाँच बजेलाई सारिएको हो।
यसअघि बुधबार पनि देउवा र प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै छलफल भएको थियो।
हिजोको भेटमा प्रचण्डले पार्टीभित्र चर्को दबाब परेकाले अहिले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गर्न नसकिने बताएका थिए।
गत शनिबार देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच एमसिसी संसदबाट पारित गर्ने र गठबन्धन जोगाउने सहमति भएको थियो।