काठमाडौं । सुरु हुनसाथ प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।अब अर्को बैठक शुक्रबार बस्नेछ।
शुक्रबार दिउँसो १ बजे बस्ने गरी आजकाे बैठक सकिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बुधबारको बैठक थारु आयोगको प्रतिवेदन पेश र शोक प्रस्ताव पारित गर्दै सकिएको छ। बैठकको सुरुवातमै एमालेले अवरोध गरेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारबाही सुरु हुन्छ भने लगत्तै एमालेका सांसदहरुले विरोध र नाराबाजी गर्न सुरु गरेका थिए।
बुधबारको बैठकमा अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता टेबल गर्ने तयारी भए पनि अन्तिम घडीमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार सम्झौता टेबल नगर्ने सहमति बनेको थियो।