काठमाडौं । सत्तारूढ दल राष्ट्रिय जनमोर्चा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध दर्ता भएको महाअभियोगमा समर्थन जनाएको छ।
पार्टीकी प्रवक्ता तथा सांसद दुर्गा पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो समर्थन भएको स्पष्ट पारेकी हुन्।
यद्यपि महाअभियोगको प्रस्ताव हुँदा आफू वा पार्टीसँग समन्वय नभएको पनि उल्लेख गरेकी छन्। तैपनि उनले महाअभियोगको पक्षमा मत हाल्ने बताएकी छन्।
‘राणालाई पदबाट हटाउने उपयुक्त माध्यम महाभियोगको प्रस्ताव नै थियो। तर त्यसरी महाभियोग दर्ता गर्ने कार्य धेरै सांसदहरूको सहमतिबाट नै हुन सक्दथ्यो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘अहिले त्यसप्रकारको सहमति जुटेर महाअभियोगको दर्ता भएको छ। संसदमा दर्ता भएको त्यो महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसदमा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु।’
राणा सर्वोच्च अदालतको न्यायधीश बन्न अयोग्य रहेको आफ्नो पार्टी सुरूदेखि नै स्पष्ट रहेको र अध्यक्ष चित्रबहादुर केसीले उनलाई गरिएको नियुक्तिविरूद्ध अडान लिएको उनले बताइन्।
राणाविरूद्धको महाअभियोगको प्रस्तावमा सत्तारूढ तीन दलका ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।