काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीलाई देशको हितमा कुठाराघात नहुने गरी अघि बढाउन चाहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमसिसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको बताएका हुन्।
उनले यस विषयमा फैलिएका आशंकाहरू बुझ्न चाहिरहेको बताए।
एमसीसी सहयोगको विषय भए पनि नेपाली समाजमा निकै ठूलो बहस र विवादको विषय बनेको छ। यो विषयबारे हामी अझै पनि छलफल चलाइरहेका छौं,’ उनले भने, ‘फैलिएका आशंकाहरू के-के छन् त्यो पनि बुझ्न चाहिरहेका छौं। जनताको भावनामा ठेस नपुग्नेगरी, देशको हितमा कुठाराघात नहुने गरी र सबै मित्रराष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम हुने गरी हाम्रो समस्यालाई आफ्नै किसिमको परिवेशलाई अरूले पनि बुझिदिउन् भन्ने चाहना राख्ने गरी हामी अगाडि बढ्न चाहिरहेका छौं।’
नेपालले सबै राष्ट्रहरूसँग मित्रताको भाव राख्न चाहेको र कसैसँग पनि कटुता राख्न नचाहेको बताए।
‘हाम्रा सबै मित्र हुनेछन्। कोही शत्रु हुने छैनन्। हामी हाम्रो देशलाई कुनै किसिमको विश्वको रणभूमिको मैदान बनाउन चाहदैनौं। नेपाललाई शान्तिप्रिय देशको रूपमा स्थापित गर्न चाहान्छौँ,’ उनले भने, ‘असंलग्न परराष्ट्र नीतिलाई अवलम्बन गर्दै अघि बढ्न चाहन्छौं। यो सबै हाम्रो विशेष परिवेशलाई ध्यानमा राखेर नै हामी एमसिसीसम्बन्धी विषयको बारेमा पनि एउटा अडान हामी लिनेछौं।’
नेपालले आफ्नो पार्टीको वैधानिकताबारे पनि प्रश्न उठाए सह्य नहुने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले एकीकृत समाजवादीको वैधानिकतामा प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधीन छ। नेपालले आफ्नो पार्टीले कानुनी रूपमा वैधानिकता पाएको र आफूहरूलाई सांसदको रूपमा स्वीकार गर्ने आधारहरू बनेको बताए।
‘हामी वैधानिक रूपमा निर्माण भएको पार्टी हौं। हामीले कानुनी आधारमा पार्टीको मान्यता पाएका छौं। र, सांसदको रुपमा स्विकार गर्ने स्थिति पनि बनाएका छौं। यस माथि कसैले धावा बोल्न खोज्छ भने, औंलो ठड्याउन खोज्छ भने हामी सहन गर्दैनौं,’ उनले भने।
अगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा पनि गठबन्धन मिलेर जाने उनले बताए।