काठमाडौं । नेपाली कांग्रेसकी सचतेक पुष्पा भुलाससले अदालत जोगाउन महाभियोगभन्दा अर्को विकल्प नभएको प्रतिक्रिया दिएकी छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता गर्दा प्रस्तावक रहेकी उनले प्रधानन्यायाधीशले निकास नदिँदा महाभियोग दर्ता गर्नुपरेको बताइन्।
‘जनताको न्यायमा पहुँच नभएको, संवैधानिक इजलास अघि बढ्न नसकेको, संविधानको कार्यान्वयनमा अवरोध भएको लगायतका कारणले गठबन्धनका दलहरुले महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको हो’, उनले भनिन् ।
न्यायपालिकाभित्र देखिएको विवाद अन्त्यका लागि राणाले पटक्कै सक्रियता नदेखिएको भुसालको भनाइ छ। ‘आज न्यायपालिका ठप्प हुनुपर्ने स्थिति सिर्जना भयो। जुन किसिमले प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै, बारबाट र नागरिकस्तरमा विरोधका कार्यक्रम भइराखेका थिए, त्यसले गर्दा पनि महाभियोग प्रस्ताव दर्ता गर्नुपर्ने स्थिति आयो’, भुसालले थपिन्।
राणामाथि जति अभियोग लागेका छन्, त्यसलाई पुष्टि गर्न महाभियोग समितिको गठन हुने उनले बताइन्। त्यसले विभिन्न अनुसन्धान गर्ने, बयान लिने र प्रमाण जुटाउने भुसालको तर्क छ।
अरु विषयसँग यसको कुनै तालमेल छैन। संसद्को अलग विषय हो। राजनीतिको अरु विषय हो। हामीले निकास दिने समय आइसक्यो भनेर पटकपटक भनि पनि रहेका थियौं। उहाँ अदालतमा जाने, हाजिर गर्ने, फर्किने गर्नुभएको थियो, त्यसले अदालत नै निष्क्रिय भइरहेको थियो’, भुसालले भनिनन्।
संविधानले मागेको गतिशीलता अदालतमा देखिन छाडेको उनको टिप्पणी छ। ‘ हामीले यी विषय पटकपटक उठाएका थियौं। सदनमा पनि, गठबन्धनमा पनि। महाभियोग प्रस्तावभन्दा अरु विकल्प भएन भनेर दर्ता गरेका हौं’, भुसालले भनिन्।