२५ आश्विन २०८१, शुक्रबार
spot_img
२५ आश्विन २०८१, शुक्रबार
spot_img
spot_img

प्रणय दिवस र यसको सान्दर्भिकता

spot_img

अनन्तप्रसाद घिमिरे
अर्घाखाँची ।  प्रेम मानव जीवनको भावनात्मक शब्द हो। प्रेम शब्दलाई सबैभन्दा कोमल र हृदयस्पर्शी शब्दका रुपमा लिइन्छ। जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ त्यसैगरी हृदयलाई प्रेमको प्यास हुन्छ। जो प्रेमको अभावमा जिउन बाध्य छन् उनीहरूको जीवन बाहिरी रूपमा जस्तो सुकै देखिएतापनि आत्म भोकै हुन्छ। हो प्रेममा स्वार्थ हुन्छ, शंका हुन्छ त्यसभन्दा ठूलो कुरा एक आपसमा विश्वास एवं समर्पणको भाव हुन्छ।

आत्मिक प्रेम सदैव सकारात्मक हुन्छ। यसले सबैलाई खुसी दिन्छ, आनन्द दिन्छ, शक्ति तथा उत्साह दिन्छ। जब पहिलो पल्ट कसैले प्रेमरूपी आँखाले हेर्छ त्यही बेला आफ्नो जीवन मूल्यवान लाग्छ। आफू यस धर्तीमा जन्मेको सार्थक भएजस्तो लाग्छ। जीवन देखि गर्व लागेर आउँछ। मनभित्रका नैराश्यता हट्दै जान्छन्। आफ्नो अस्तित्व तथा जन्मले कमसेकम एक हृदयलाई आनन्दित तुल्याएको भावले एक गहन आत्मसम्मान र तृप्ति दिन्छ। प्रेमबिनाको जीवन सम्पत्ति भए तापनि दरिद्र हुन्छ। धमिरो लागेको रुखजस्तै हुन्छ। प्रेमको अभावमा कुनै उत्तप्रेरणा पैदा हुँदैन। मनमा अमन चैन हुँदैन। मात्र निराश एक दुःखद तथा असिर्जनशील जीवन जिउन बाध्य भइन्छ। प्रेमले नै मानिसलाई निष्ठावान, कर्तव्यवान, सफल तथा असल बनाउँछ। आज जसरी हामी यस संसारमा विभिन्न किसिमका आपराधिक महत्त्वाकांक्षी र घमण्डी मानिसहरू देखिरहेका छौं त्यसको कारण सही किसिमको प्रेम नपाएर वा अनुकूल जीवन नपाएर भन्दा र्व्यर्थ नहोला। किनकि जो व्यक्ति कसैको गहन प्रेममा छ उसलाई हत्या हिंसा र अन्यायको भावनै आउँदैन। प्रेममा अहंकार शान्त पार्न सक्ने जैविक तत्व लुकेको हुन्छ। प्रेमबिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ। आँखा भए तापनि अन्धो जस्तै हुन्छ। अन्धाले पेट भरिए तापनि आत्मा भोकै हुन्छ। प्रेमले पहिलो चोटि जीवनमा सन्तुलन, सन्तोष, परितृप्ति र सकारात्मक भावना ल्याउँछ। जीवनको आफैमा कुनै अर्थ छैन तर प्रेमले जीवनलाई बाँच्न लायक बनाउँछ। उजाडिएको जीवनलाई भरिलो बनाइदिन्छ। अशान्त मनलाई सान्त्वना दिन्छ। रोएको हृदयलाई हँसाइदिन्छ। अरु सबै गुमाए फेरि पाउने आशा हुन्छ तर प्रेम गुमाए संसार रित्तिएको भाव हुन्छ। प्रेम पाउन गाह्रो कुरा हो भने गुमाउन पनि गाह्रो। तर जति गाह्रो पाउन हुन्छ त्यसको कयौं गुणा गाह्रो हुन्छ गुमाउँदा। त्यसैले प्रेम प्राप्तिको लागि भरसक प्रयास गर्नुपर्छ। त्याग तथा समर्पण गर्नुपर्छ। अर्काको भावना तथा विचारको कदर गर्नुपर्छ। केही सम्झौता गर्नुपरे तापनि पछि हट्नुहुँदैन। प्रेमको कुनै ठोस परिभाषा नभए तापनि कसैको सामीप्यता चाहनु तथा बारम्बार उसलाई सम्झनु र आफ्ना भावना उसैसँग साट्न चाहनु नै प्रेम हो। तर प्रेमको बारेमा सबैको एउटै सोच नहुन सक्छ। प्रेममा सोचविचार तथा भावना मिल्दैन। दुर्इ ध्रुवमा बाँडिन जान्छ भने टुट तथा फुटको अवस्थामा पुग्छ प्रेम। तब आफ्नो जिन्दगी भार लाग्छ, नैराश्यता छाउँछ, बाँच्नुको कुनै अर्थ नै छैन कि जस्तो लाग्छ। भीडभाडमा पनि आफूलाई एक्लिएको भान हुन्छ। सबै कुरा पाए तापनि संसार रित्तो लाग्छ। आफ्नो जन्मलाई धिक्कारन मन लाग्छ। प्रकृतिले दिएको संरचनालाई अस्वीकार गरेर अर्कै दुनियाँमा जान पाए जस्तो लाग्छ। भौतिक सुख सम्पन्नता भए तापनि आत्ममा शान्ति हुँदैन। प्रेमकै आकर्षणले यो संसार चलिरहेको छ। ग्रह नक्षत्र र तारा पनि एक आपसमा बाँधिएका छन् लयबद्ध छन्। नदीनाला गतिशील छन्, क्षितिज र जमिन नङ र मासु जस्तै छन् नत्र उनीहरू पनि एकआपसमा ठोक्किन्थे होलान् र यो सुन्दर संसार क्षणभरमै नष्ट हुन्थ्यो होला। त्यसैले प्रेम जीवनको मौलिक भोक हो। प्रेमले नै जीवनको विजारोपण हुन्छ र प्रेमकै कारण आमाले बच्चालाई नौ महिना गर्भमा बोकेर हिन्ने असुविधा समेत हाँसी-हाँसी स्वीकार गर्छिन्। आफूले मृत्यु बराबरको व्यथा सहेर पनि यस धर्तिमा सकुशल पैदा गर्छिन्। फेरि बारम्बार आफ्नै पेट मारेरै किन नहोस्, छोरा छोरीहरू हुर्काउँछिन्। तर आज जसरी जवान युवायुवतीको बीचको सम्बन्धलाई मात्र प्रेम मानिएको छ यसले प्रेमको क्षेत्र साँघुरो बनाएको छ। प्रेम केवल युवायुवतीबीचको क्षणिक आकर्षणमात्र होइन यो त मानव जीवनलाई जीवन्त तुल्याउने एक आध्यात्मिक तत्व पनि हो। प्रेममा कुनैरूप,आकार-प्रकार, सानो ठूलो, राम्रो नराम्रो केही हुँदैन। मात्र हुन्छ त आवश्यकता, विश्वास, स्वार्थ, समर्पण, आनन्द। साँच्चिकै भन्ने हो भने प्रेम गर्नलाई कुनै विशेष दिनको आवश्यकता पर्दैन र प्रेम यो दिन यो ठाउँमा र यो व्यक्तिसँग गर्छु भनेर सायद हुँदैन। यो त आत्माको विजारोपण हो। वास्तविकतामा प्रेम कसैको रूप र शरीरसँग मात्र हुँदैन। उसको भावना तथा व्यवहारसँग हुन्छ त्यसैले सबैलाई सबै मान्छे मन पर्दैन र सबैसँग प्रेम पनि हुँदैन। मानिस फरक-फरक स्वभाव र व्यक्तित्वका हुन्छन्। आफ्नो व्यक्तित्व स्वभाव तथा जीवनशैली अनुरूपकै प्रेमको चाहना हुन्छ।

यसै सन्दर्भमा फेब्रुअरी १४ लाई Valentine’s Day को रुपमा संसारभरी मनाइन्छ । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ ।
पछिल्लो समयमा विश्वभरका युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ्न । यो दिवसको सुरुवात रोमनबाट सुरु भएको हो । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ मा रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग प्रेम बस्यो। आफूलाई मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात जेरकी छोरीलाई दिएको कथन रहेको छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लोसमय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।
यस पर्वले पछिल्लो समय नेपालमा पनि विशेष स्थान पाएको छ । आधुनिक युगतर्फ लम्किरहेको हाम्रो नेपाली समाजका युवायुवती यस दिवसलाई निकै महत्त्वका साथ मनाउने गरेका छन् । यो पर्वलाई युवायुवतीबीच प्रेम अभिव्यक्त गर्ने अवसरको रूपमा मात्रै नभई समग्रमा जीवनलाई प्रेममय बनाउनुपर्छ भन्ने किसिमले मनाइन्छ।

आफ्ना प्रियजनलाई मनपर्ने विभिन्न उपहार दिनु वा शुभकामना व्यक्त गर्नु पनि प्रेम दिवसको मान्यता हो । ‘भ्यालेनटाइन्स डे’मा विभिन्न उपहार, कार्डसहित रातो गुलाफको फूल पनि दिने चलन छ । रातो गुलाफको फूललाई प्रेमको प्रतीक मानिन्छ । प्रेम दिवसलाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ, सप्ताहको पहिलो दिन रोज डे, दोस्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डी डे, पाँचौं दिन प्रमिश डे, छैटौं दिन हग डे, सातौं दिन किस डे र अन्तिम दिन भ्यालेनटाइन्स डेको रूपमा मनाउने गरिन्छ । यसलाई भद्दा र विकृतिका रुपमा नमनाइ सभ्य र नेपाली सस्कार एवं सस्कृतिसँगै जोडेर मनाउन सकेमा निश्चय पनि यसको सान्दर्भिकता पुष्टि हुनेछ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै