डोटी – किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।
किसानकाे मकै बाली बाँदरले नोक्सान गर्न थालेपछि किसानहरूको आग्रहमा साइन नेपाल नामक संस्थाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौबाट खरिद गरेर गाउँपालिकाको सातवटा वडामा वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो ।
यस यन्त्रलाई बोलीचालीको भाषामा बाँदर धपाउने बन्दुक पनि भन्ने गरिएको छ । पड्काउँदा ठूलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने सम्भावना रहेकोले वडाको जिम्मामा आवश्यकता अनुसार मात्र पड्काउने सर्तमा वितरण गरेको बताइएकोे छ । बाँदरको आतङ्कबाट छुट्कारा पाउन पूर्वीचौकी गाउँपालिकाका सातवटै वडाका अध्यक्षहरुलाई २५ थान यन्त्र (बन्दुक) हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो ।
बाँदर धपाउने यन्त्र पाएपछि किसानहरुमा खुसी छाएको छ । पूर्वीचौकी गाउँपालिका–२ का किसान करनसिंह साउदले भन्नुभयो, ‘बाँदर धपाउने बन्दुक पाएपछि किसानहरुलाई निकै राहत मिलेको छ ।’