काठमाडौ ।  सरकारले हालै देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च र परिवारलाई राहत उपलब्ध गराउने भएको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।





मन्त्रालयले विगत केही दिनयता कास्की, मुगुलगायतका स्थानमा भएको सवारी दुर्घटनाबाट भएको क्षतिले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाइ नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। चाडवाड र उत्सवको समयमा हुने यस्ता दुःखद् घटनाहरुको न्यूनीकरणका लागि सडक तथा यातायात सम्बद्ध निकायहरु, स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई संवेदनशील र जिम्मेवार भइ लाग्न तथा यातायात व्यवसायी, मजदुर र यात्रुहरुले समेत सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यातायात सेवा सञ्चालन र प्रयोग गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ।