कमल बिष्ट
कपिलवस्तु । सम्पूर्ण उत्पीडित दलित एक होऔं भन्ने नारा सहित नेकपा एमालेको जनबर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज, शिवराज नगरपालिका १ नम्बर वडाको वडा भेला आज शिवराज १ बेलौतीमा अवस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा सप्पन्न भएको छ ।





भेलाले केशर बि. क. अध्यक्ष , मनिषा सुनार उपाध्यक्ष र सचीव शुभम सुनार रहेको १९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जातीय उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य, लुम्बिनी प्रदेश सचिव सि. बी. गहतराजले युगौ देखि दलित र उत्पीडितवर्गहरु जातीय बिभेदमा पर्दै आएकाले अब जातीय र वर्गीय मुक्तिका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गोलवद्ध भएर जातीय र वर्गीय विभेद अन्त्य गर्ने आन्दोलनमा गोलवद्ध हुनुपर्ने बताउनुभयो , दलित र उत्पीडित वर्ग मुलुकका हरेक आन्दोलनमा प्रयोग हुने र आन्दोलन सफल भए पश्चात उपेक्षामा पर्नेगरेकोमा जातीय र वर्गीय विभेदको अन्त्य बिना मुलुक समृद्ध हुन नसक्ने बताउदै जातीय बिभेद मुलुकको गम्भीर समस्या रहेको बताउनुभयो ।

त्यस्तै विशिष्ट अतिथि नेकपा नेतृ तथा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले राज्यले कानुन बनाएर छुवाछुतको अन्त्यको प्रक्रिया थालेपनि सामाजिक हिसाबले समस्या कायम रहेको बताउदै यसको अन्त्य अनिवार्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले समेत जातीय विभेद छुवाछुतको प्रथा बिरासतका रुपमा चलिआएको प्रथा भएकाले दलित र गैर दलितले संयुक्त अभियानका रुपमा विभेदको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेताहरु, द्रोण अधिकारी , विष्णु अधिकारी , जगतबहादुर घर्ती क्षेत्री, गङ्गा घर्तीमगर , महादेव पोख्रेल , केशर बिक , प्रेम सुनार, लक्ष्मी हमाल, दुर्गा बहादुर बिक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाजका नगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर १ का इन्चार्ज विष्णु बिकको अध्यक्षता, नेपाल जातीय उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य, लुम्बिनी प्रदेश सचिव सि. बी. गहतराजले प्रमुख आतिथ्यता, टिका बिकको स्वागत र मुक्ति समाज नगर उपाध्यक्ष तथा नगर कार्यपालिका सदस्य टिका बिकको स्वागत, नेकपा एमाले १ नम्बर वडा कमिटी सदस्य शिवम सुनारको सन्चालनमा सम्पन्न भएको हो।