काठमाडौं | पछिल्लोपटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी रहे पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन।





सभापति शेरबहादुर देउवाले क्रियाशीलको सूची केन्द्रीय निर्वाचन समितिलाई दिएपछि उक्त समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने व्यवस्था छ।

महाधिवेशन कार्यतालिकाअनुसार यही असोज ५ मा २० जिल्लाभित्र वडामा अधिवेशन हुनुपर्नेछ।

तर कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन।

१३ जिल्लामध्ये कांग्रेसले चार जिल्लाको क्रियाशील सदस्यता विवाद भने मिलाइसकेको छ। डोल्पा, सर्लाही, सुर्खेत र कैलालीको विवाद मिले पनि नाम सार्वजनिक भएको छैन।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अब केही जिल्लामा मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद बाँकी रहेको र छिट्टै विवाद समाधान गरिने बताए।

‘अब धेरै मिलिसक्यो, केही जिल्लामा देखिएका विवाद छिट्टै समाधान हुन्छ,’ उनले भने। निर्वाचन समितिले भने प्रदेश नम्बर २ का आठवटै जिल्लाको सूची आएपछि एकैपटक सार्वजनिक गर्ने बताएको छ। सबैभन्दा धेरै विवाद प्रदेश २ मा छ।

अन्य पार्टीबाट आएकालाई कांग्रेसमा समायोजन गर्दाकै विवाद मिलेको छैन। कांग्रेसले भदौ १८ मा देशैभर वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लामा मात्रै पहिलो चरणमा अधिवेशन सकेको थियो।

वडा अधिवेशन ढिलाइ हुँदा गाउँ/नगर अधिवेशन प्रभावित बन्ने भएको छ। यही असोज ९ मा गाउँ/नगर अधिवेशन तोकिएका छन्। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं अधिवेशन गर्ने तय गरेको छ। वडा अधिवेशन नै समयमा नहुने भएपछि यो अधिवेशनको तालिका फेरि पनि प्रभावित हुने देखिएको छ।